इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । 

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।