युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाको भिटोपछि प्यालेस्टाइनको कडा प्रतिक्रिया

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताउनुभएको छ ।

अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको हताहतका लागि अमेरिकी सरकार जिम्मेवार रहेको अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा परिषद्को विशेष बैठकमा अमेरिकाले लगाएको भिटोले संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको टिकाटिप्पणी भैरहेको छ । इजरायलले भने भिटोको प्रशंसा गरेको छ ।