भगवानपुर गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै प्रदर्शन

सिराहा: दलित समुदायमाथि अपमानजनक व्यवहार गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ । दलित समुदाय माथि विभेद गरिनु कानुनी अपराध भएको भन्दै संयुक्त दलित मोर्चा सिरहाले गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग गरेका हुन् ।

प्रदर्शन पछि कोणसभामा वक्ताहरूले छोइछिट्टो गरिनु कानुनी अपराध भएकोले कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गरे । ‘भागवानपुर घटना ६० लाख दलितहरूप्रतिको अपमान हो, यो सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरूपणको विषय हो । घटनाको गहन छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गरिनुपर्छ’ वक्ताहरूले भने ।

मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने निकाय नै दलित माथि विभेद गर्न उद्वेलित भएको बताए । जिल्ला समन्वय समिति सिरहाका पुर्व सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरू फेरि कानुन कार्यान्वयनको लागि एक जुट हुनुपर्ने अवस्था आएको बताए । अब कानुन कार्यान्वयन गर्न पनि दलितहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको विकले बताए।

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए । त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानर नै राखेर छुट्टाछुट्टै भोज खाने बन्दोबस्त गरेका थिए ।

भोजमा पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका बहालवाला गृह तथा सञ्चारमन्त्री शत्रुधन सिंह कोइरी, बहालवाला तथा पुर्व गरी दर्जन जति सांसदहरू, प्रमुख जिल्ला अधिकार, प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।