अदालतको फैसला कार्यान्वयनको बहानामा घुस माग्ने दुईजना प्रहरी भ्रष्टाचार मुद्दामा दोषी ठहर

अदालतको फैसला कार्यान्वयनको बहानामा घुस माग्ने दुईजना प्रहरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार शर्माप्रसाद यादव र मञ्जितकुमार झालाई सजाय सुनाएको हो। 

यादव प्रहरी सहायक निरीक्षक हुन् भने झा प्रहरी वरिष्ठ हवल्दार हुन्। उनीहरूलाई जनही एक महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना हुने भएको छ। दुवैजना महोत्तरीको कान्तिबजारमा कार्यरत थिए। यस मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो। यो मुद्दा विशेषमा गत २५ चैतमा दायर भएको थियो। 

जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञाको एक मुद्दामा भएको फैसला कार्यान्वयनका लागि उनीहरूले घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो। आवश्यक मुचुल्का तयार गर्न सहजीकरण गरिदिने भन्दै उनीहरूले २० हजार रुपैयाँ मागिरहेका थिए। अख्तियारको टोलीले यादव र झालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।