किन गर्ने फेसियल ? कुन उमेरमा फेसियल गर्नु उपयुक्त ?

काठमाडौँ - सुन्दर देखिनकै लागि बजारमा उपलब्ध नयाँ कस्मेटिक सामग्रीहरु प्रयोग गर्ने गर्छन् । त्यसमा पनि युवामाझ फेसियल लोकप्रिय बन्दै गएको पाइन्छ । फेसियल महिलादेखि पुरुष दुवैको रोजाइमा पर्ने गर्छ ।
अनुहारलाई चम्किलो र फ्रेस राख्न फेसियल गरिन्छ। धूलो, धूवाँका कारण छालामा नराम्रो असरले अनुहारको प्राकृतिक चमक हराउने गर्छ । हामी दिनहुँ क्लिनजिङ, मोइस्चराइजर, सनब्लक र नाइट क्रिमहरु लगाउँछौं, त्यो आफ्नो ठाउँमा छ । तर त्यतिले मात्र छाला राम्रो र चम्किलो हुँदैन । फेसियल गर्दा यसले छालाको गहिराइसम्म पुगेर सफा गर्ने र छालालाई चमक दिने काम गर्दछ ।

फेसियल किन गर्ने?
फेसियल हरेक २८ दिनदेखि एक महिनासम्म गर्नुपर्छ । २० वर्ष कटेपछि फेसियल आवश्यक हुन्छ । छालालाई बिग्रिनबाट बचाउन नियमित फेसियल गराउने हो ।
कतिपयले २५ वर्षको कटेपछि मात्र फेसियल गर्नुपर्छ भन्ने गर्छन् तर त्यो गलत हो । कतिपय महिलाको २० देखि २२ वर्षको उमेरसम्म नै अनुहारमा चाउरीपन देखिएको हुन्छ । यस्तो अवस्थामा फेसियल गर्न अत्यन्तै जरुरी हुन्छ । २५ देखि ४५ वर्षको उमेरसँगै ‘एजिङ एज’ सुरु हुँदै जान्छ । यस उमेर समूहका व्यक्तिले गर्ने फेसियल फरक छ । 
नियमित फेसियल गर्दा छाला नरम, जवान र चम्किलो देखाउँछ । यसले अनुहारको छालामा रक्त प्रवाह बढाउने काम गर्दछ । फेसियलले अनुहारलाई गोरो देखाउनुका साथै स्वस्थ राख्छ ।

फेसियल गर्न कुन समय उपयुक्त ?
समयको हिसाबले फेसियल ३.०० बजे पछाडि गर्दा राम्रो हुन्छ । बिहानको समयमा फेसियल गर्दा मध्यघामले डढ्ने र कालो हुन्छ । फेसियल गरेको छाला ‘बेबी स्किन’ जस्तै हुन्छ । अनुहारको एक लेयर छाला वा मृत कोस स्किन सेललाई निकालिन्छ । त्यसैले फेसियल गरेपछि मोइस्चराइजर र सनब्लक लगाउनुपर्छ ।
कस्तो अवस्थामा फेसियल गर्नुहुँदैन ?
प्रेग्नेन्सीको अन्तिम चरण चलिरहेका महिलाहरुलाई फेसियल गर्नुहुँदैन । फेसियल गर्दा विभिन्न क्रिमको प्रयोग हुन्छ । जस्तै, नाक वरपरका ‘ब्ल्याक हेड्स’ निकाल्न ‘पिन’को प्रयोग गरिन्छ । यसको दुःखाइ सहन गाह्रो हुन्छ । त्यसैले मधुमेह र उच्च रक्तचापका बिरामीलाई त्यही अनुसारको हेरविचार गर्नुपर्ने हुन्छ । गर्भावस्थाका महिलाहरुका लागि आठ महिनापछि फेसियल गर्नु हुँदैन ।फेसियलका बेफाइदा
फेसियल भनेको अनुहारको मसाज गर्ने एक विधि हो, जुन गलत मसाजले अनुहारमा झनै चाउरीपन देखिने हुनसक्छ । मसाजको टेक्निकहरु नजानिकनै फेसियल गर्दा छाला झोल्लिने, चाउरी हुने समस्या हुने गर्छ । त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो पार्लरमा गराउँदा यसको राम्रो फाइदा लिन सकिन्छ ।