बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

अहिले भने नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।