भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना

भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ । विशेष अदालतले कसुर ठहर्याएपछि बुधवार उक्त सजाय सुनाएको हो । प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो । 

उक्त प्रकरणमा आयोगले २१ जनालाई प्रतिवादी बनाएकोमा अदालतले प्रमुख यादवलाई मात्रै ठहर गरेको थियो । २०७९ असार १२ गते अख्तियारले मेयर यादव सहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नम्बर १, २, ३, ५, ६, ८, ९, १० र ११ का वडाध्यक्ष, केही पूर्व वडाध्यक्ष, तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र रञ्जना साह समेत गरी २१ जनालाई मुद्दा चलाइएको थियो । 

पालिका प्रमुख यादवले नियम विपरीत लाल बकैया नदिका ठेक्का रद्द गरेको अख्तियारको ठहर थियो । लाल बकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सङ्कलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो । एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपियाँ बिगो दाबी गरिएको यस मुद्दामा विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले पालिका प्रमुख यादवलाई मात्र दोषी ठहरको फैसला सुनाएको थियो ।