अब साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, यी आधा दर्जन कागजपत्रको पनि काम गर्ने

अब राष्ट्रिय परिचयपत्रलाई साउन १ गतेदेखि लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो ।

तयार भइसकेको परिचयपत्र लिन नागरिक नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्ड थुप्रिएको छ । १ करोड ४९ लाख जनाले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया पूरा गरेर नम्बर लिइसकेका छन् । सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् ।

यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् । १ करोड ५९ लाख जनाले परिचयपत्र बनाउने प्रक्रिया पूरागरेकोमा यसमध्ये ३८ लाख जनाको परिचयपत्र छपाइ भइसक्यो । यीमध्ये ८ लाख जनाले मात्रै परिचयपत्र लिएको विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरी बताउँछन् ।‘सर्वसाधारण परिचयपत्र नै लिन आइरहेका छैनन्,’ उनले भने, ‘यसको प्रयोग नआउँदा लिन नआएको हुन सक्ने हाम्रो आकलन छ ।’