‘नाडा अटो शो’ सुरु : यस्ता छन् चार पाङ्ग्रे ईभी मूल्यसहित

काठमाडौंमा ‘नाडा अटो शो’ सुरु भएको छ ।  मंगलबारदेखि सुरु शो भदौ ३१ गतेसम्म चल्ने नेपालकै ठूलो अटो शो मा विभिन्न ब्रान्डका गाडीहरु प्रदर्शनी एवं बिक्रीमा राखिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको अटो शो मा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनदेखि स्पेयर पार्टस् र अन्य अटोमोबाइल सम्बन्धीका स्टल रहेका छन् ।

विभिन्न ब्रान्डले निकै कम मूल्यका विद्युतीय सवारी सार्वजनिक गरेका छन् भने कुनै ब्रान्डले निकै महँगा लक्जरी गाडी पनि सार्वजनिक गरेका छन् । विगत तीन वर्ष रोकिएको अटो शो लाई लिएर यस वर्ष व्यवसायीहरु निकै उत्साहित बनेका छन् भने नयाँ ईभीहरुलाई लिएर ग्राहकहरु पनि उत्तिकै आकर्षित देखिन्छन् ।

कुन ब्रान्डका कस्ता ईभी ?
 

१. टाटा

टाटाले नाडा अटो शो का अवसरमा नेपालमा थप दुई नयाँ ईभी सार्वजनिक गरेको छ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी र पञ्च ईभी सार्वजनिक गरेको हो ।

टियागो– दुई भेरियन्टमा रहेको टियागोको सुरुवाती ४५ किलोवाट क्षमताको गाडीको मूल्य २१ लाख ९९ हजार रहेकोछ  । 

यस्तै टियागो टप भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा टाटाको यसअघि नै नेक्सन र टिगोर ईभी रहेको छ । यस्तै टाटाले नेक्सन ईभी म्याक्सको नयाँ मूल्य ४५ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।

२– सेरेस

नाडा अटो सोमा एमएडब्ल्यू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका दुई ईभी सार्वजनिक गरेको छ । कम्पनीले सेरेस–३ र सेरेस मिनी ईभी सार्वजनिक गरेको हो ।

सेरेस–३ यो मोडल अन्तर्गत दुईवटा भेरियन्ट रहेका छन् ।  सेरेस–३ कम्फर्टको मूल्य हाललाई ४७ लाख ९९ हजार रहेको छ ।  यस्तै सेरेस–३ प्रिमियको मूल्य भने ४९ लाख ९९ हजार रहेको छ ।

गाडीले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटरदेखि ४०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

मिनी ईभी– सेरेसको मिनी ईभी ११० किलोमिटरको बेस अप्सन, ११० किलोमिटरको फुल अप्सन र २२० किलोमिटरको फुल अप्सन गरी तीन भेरियन्टमा उपलब्ध छ । 

यी तीनै भेरियन्टको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ । सुरुवाती भेरियन्टले फुल चार्जमा ११० किलोमिटर रेन्ज दिन्छ भने टप भेरियन्टले २१० किलोमिटर रेन्ज दिन्छ ।

३– नेटा

सीजी मोटर्सले नेपालमा नेटा ब्रान्डका तीन नयाँ ईभी सार्वजनिक गरेको छ ।  तर, यी तीनवटै गाडीको मूल्य भने केही महिनापछि मात्रै सार्वजनिक गरिने भएको छ ।

नेटा जीटी, नेटा यू र नेटा एस गरी कम्पनीले तीन नयाँ गाडी नाडा अटो सोमा प्रदशर्नीमा राखेको छ । सबैभन्दा बढी नेटाको एस मोडेलको रेन्ज ११०० किलोमिटर दाबी गरिएको छ । यसअघिदेखि नै नेटाको नेटा भी मोडल बजारमा उपलब्ध छ ।

४– बीवाईडी

नाडा अटो शो मा बीवाईडीले हालै सार्वजनिक गरेको डल्फिन र मूल्य सार्वजनिक हुन बाँकी स्टिल भेरियन्ट प्रदर्शनीमा राखेको छ । डल्फिन– एकपटक फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज दिने दाबी गरिएको बीवाईडीको डल्फिन मोडेलको गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

बीवाईडीको नयाँ स्टिल मोडेलको गाडीको मूल्य भने सार्वजनिक गरिएको छैन ।  बीवाईडीको अट्टो–३ र अल न्यू ई–६ ईभी पहिलेदेखि नै बजारमा रहेको छ ।

५. एमजी

एमजीले नेपाली बजारमा उपलब्ध गराउँदै ४ मोडेलका ईभी नाडा अटो शोमा राखेको छ । एमजी–४ यो ईभी कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा छ ।  ३५० किलोमिटर रेन्ज दिने कम्फर्टको मूल्य ४१ लाख ४९ हजार रहेको छ भने, ४३५ किलोमिमटर रेन्ज दिने लक्जरीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजी कमेट ईभी– यसअन्तर्गत पेस र प्ले गरी दुई भेरियन्ट रहेका छन् ।  २३० किलोमिटर रेन्ज दिनेमा पेसको मूल्य १७ लाख  ९९ हजार रुपैयाँ रहेको छ भने प्लेको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजी जेडएस ईभी– सर्ट रेन्ज र लंग रेन्ज गरी दुई भेरियन्टमा रहेको एमजी जेडएस ईभीको सर्ट रेन्जमा कम्र्फट र डिलक्स गरी दुई सब–भेरियन्ट छ ।

३२० किलोमिटर रेन्ज रहेको सर्ट रेन्जको कम्फर्टको मूल्य ४९ लाख ४९ हजार छ भने डिलक्सको मूल्इ ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।यस्तै लंग रेन्ज अन्तर्गत ४४० किलोमिटर रेन्ज रहेको डिलक्सको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

६– सिट्रोन

नेपाली बजारमा पहिलेदेखि नै उपलब्ध सिट्रोन ईभी पनि नाडा अटो सोमा राखिएको छ । सिट्रोनको लाइभ र फिल गरी दुई भेरियन्ट रहेको छ । मूल्य भने क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

एक पटक फुल चार्ज गर्दा गाडीले ३२० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

७– किया

kiaev6-1694525267.JPG

कियाको ईभी–६ गाडी पनि नाडा अटो शोमा राखिएको छ । 

कियाको ईभी–६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको छ । यो गाडीले ५२८ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

८– निसानको लिफ

leaf12-1694525842.JPG

पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध निसानको लिफ ईभी पनि नाडा अटो सोमा राखिएको छ । 

३११ किलोमिटर भन्दा बढी रेन्ज दाबी गरिएको लिफको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

९– स्काईवेल

skywell-1694525928.jpg

स्काईवेलले पनि नेपाली बजारमा सार्वजनिक आफ्नो ईटी–५ ईभी नाडा अटो सोमा राखेको छ । 

६ सय किलोमिटर भन्दा बढी रेन्ज दाबी गरिएको यो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

१०– ओरा

ora-1694526084.JPG

नेपालमा पहिलेदेखि नै जीएमडब्ल्यूको ओरा–०३ ईभी पनि नाडा अटो शोमा राखिएको छ । 

यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।  यो गाडी एकपटक चार्ज गर्दा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

११– वुलिङ

wulling-1694526084.JPG

नेपालमा वुलिङले दुईवटा मोडेलमा पहिलेदेखि नै उपलब्ध गराउँदै आएका ईभी सोमा राखेको छ । 

जस अन्तर्गत २०० किलोमिटर रेन्ज दिने गाडीको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ भने, ३०० किलोमिटर रेन्ज दिने गाडीको मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।