बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टरलाई तीन लाख धरौटीमा छाड्न आदेश

आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कार गरेको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर विदुर सिवाकोटीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशअनुसार सिवाकोटी कारागारमा थिए । 

काठमाडौंको नागार्जुन नगरपालिका– १ घर भएका सिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेकोमा बारम्बार बलात्कार गरेको पीडित बालिकाको उजुरीपछि गत जेठमा अनुसन्धान सुरु भएको थियो । काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले ती बालिकालाई गत २३ जेठमा उद्धार गरेको थियो । उद्धारपछि बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन् । सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो । पछिल्लोपटक गत १६ जेठमा आफूमाथि बलात्कार भएको बालिकाको भनाइ छ । 

सिवाकोटीले भने विद्यालयबाट ढिला आउने तथा पैसा चोरी गर्नेलगायत विषयमा उनलाई गाली गरेको र उनकै घर पठाइदिने कुरा गरेकाले आफूविरुद्ध झुटो उजुरी दिएको बयान दिएका थिए ।  बलात्कार भएको भनिएको समयमा आफू कार्यालयमै कार्यरत रहेको दाबी उनले पेस गरेका थिए । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल पठाएको थियो । उच्च अदालतले भने उनलाई धरौटीमा छाड्ने आदेश दिएको छ । सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूमाथि महानगरले गरेको अध्ययनमा ती बालिकाले आफूमाथि यौनहिंसा हुँदै आएको बताएकी थिइन् ।