इन्धन भर्न आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्ट्राचार गर्ने प्रहरीका असईलाई ६ वर्ष कैद सजाय

नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा भ्रष्टाचार गर्नेलाई विशेष अदालतले कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट यस्तो फैसला आएको हो।

प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई ६ वर्ष कैद सजाय सुनाइएको छ। प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो।

उक्त मुद्दामा फैसला गर्दै विशेषले १५ असोजमा कसुर कायम गरेको थियो। दुई वर्षअघि दायर मुद्दामा बिहीबारका लागि सजाय निर्धारण पेसी तोकिएको थियो। विशेषका अनुसार कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने फैसलामा उल्लेख छ। असइ कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई प्रतिवादी बनाई ३१ साउन २०७८ मा मुद्दा चलाएको थियो। उनले बिक्री भएको तेलको वास्तविक हिसाब नदेखाई एक करोड तीन लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अख्तियारको दाबी थियो।