जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन काठमाण्डौसहित तराईमा अत्यधिक गर्मी हुने

केही दिनदेखि देशका धेरै ठाउँको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेकाले  गर्मी बढी भइरहेको छ । पछिल्लो समय काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१–३३ डिग्री  सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो ३१ दशमलव १ डिग्री पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागलगायत पहाडी भू–भागका धेरै ठाउँमा अधिकतम तापक्रम बढेको छ । यस क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैबीच नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ । यसको प्रभावले कोशी प्रदेशकोमा अरु ठाउँमा भन्दा धेरै बादल लागेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भू–भागमा बिहानै मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भएको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।