आइसिसी लिग-२ काे खेलहरु आजदेखि सुरू, आज नेपाल र नामिबिया खेल्दै

आइसिसी लिग-२ को त्रिदेशीय सिरिज आजदेखि सुरू हुँदैछ। सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आजदेखि खेल्दैछन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को उद्घाटन खेलमा आज नेपाल र नामिबिया भिड्दै छ। खेल बिहान सवा ९ बजे सुरू हुनेछ। नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

नेपालले फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ। यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ। लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो। अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए। यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ। आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

खेल तालिका

नेपाल भर्सेस नामिबिया – फागुन ३

नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन ५

नेपाल भर्सेस नामिबिया – फागुन ९

नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन १३

लिग-२ खेल्ने टिमहरु

क्यानडा

नामिबिया

नेपाल

नेदरल्याण्ड्स

ओमान

स्कटल्याण्ड

संयुक्त अरब इमिरेट्स

संयुक्त राज्य अमेरिका