चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब कति लिन पाउँछन् ? 

काठमाडौँ - नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

संघले चिकित्सको परामर्श शुल्क २ वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरंग सेवा शुल्क ओपिडीमा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए । 

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू ४ सय २० देखि रू ९ सय ४० सम्म तोकिएको बताए। नयाँ शुल्कअनुसार ५ वर्षसम्म अनुभव भएका एमविविए तथा बिडिएस तहका चिकित्सकको शुल्क रू ४ सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५ सय १५ तोकिएको छ।

यस्तै अब ५ वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू ६ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू सात सय ५० र ५  वर्ष बढी अनुभव भएको रू आठ सय शुल्क तोकिएको छ।

यस्तै, ५ वर्षसम्मको अनुभव भएका डिएमरएमसीएच तहका चिकित्सकको रू ८ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडीरएमसीएच तहका चिकित्सकको रू ९ सय ४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडीरएमएसरएमडिएसका चिकित्सकको रू ९ सय ४० शुल्क निर्धारण गरिएको छ। – रासस