कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा बेचनप्रसाद गुप्तालाई सजाय सुनाएको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १३ असारमा मुद्दा चलाएकोमा एक महिना नपुग्दै फैसला भएको हो । 

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गुप्तालाई ३५ हजार रुपैयाँ जरिवाना तथा तीन महिना कैद हुने फैसला भएको छ। गुप्ताले घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारले नियन्त्रणमा लिएको थियो। कित्ताकाट गरी जग्गाको बिक्री तथा अंशबन्डा गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग ३५ हजार घुस लिएका थिए।