अख्तियारद्धारा एक वर्षमा भ्रष्टाचारका २७ हजार ७१४ थान उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट, ९३२ वटा उजुरीमा विस्तृतमा अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा २७ हजार ७१४ थान उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरेको जनाएको छ । अख्तियारले आइतबार सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार ९१८ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कुल ३६ हजार १८६ वटा उजुरी प्राप्त भएकामा २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी फर्छ्यौट भएको जानकारी दिएको हो ।  

आयोगका अनुसार स्क्रिनिङ र प्रारम्भिक छानबिन भएका फर्छ्यौट भएका २७ हजार ७१४ वटमा उजुरीमध्ये ९३२ वटाको उजुरीउपर विस्तृत अनुसन्धान गरिएको थियो । यस्तै १३ हजार ७१४ उजुरी तामेली गरिएको, ४९६ वटा उजुरीहरू उपर सुझाव दिई तामेली गरिएको र बाँकी १२ हजार ७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखि पठाएको आयोगको भनाइ छ । 

आयोगले प्रारम्भिक छानबिनको क्रममा रहेका ८ हजार ४७२ उजुरी  आर्थिक वर्ष २०८१–०८२ मा जिम्मेवारी सरेर आएको पनि जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा १०५० वटा फाइलहरूको विस्तृत अनुसन्धान भई पेस भएकोमा कुल ८६ वटा बैठक बसेर २०१ वटा मुद्दा दायर गर्ने निर्णय भएको पनि आयोगको भनाइ छ ।