क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्धामा उच्च अदालत पाटनले सफाई दियो

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए।

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने। यस फैसलाको पूर्णपाठ भने आउन बाँकी छ। गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।