९४ करोड बढी ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो।

ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा पनि पक्राउ परेका छन्। सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरी सहकारी विभाग नयाँ बानेश्वरमा परेको थियो। विभागले गत असोज २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो। ब्युरोले अनुसन्धानका लागि मंसिर २६ गते जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो। अनुसन्धान गरी परिसरले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्। जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ। सहकारीमा दुई अर्ब ८० करोडको निक्षेप रहेको एसएसपी भट्टराईले बताए।

पक्राउ परेका अध्यक्ष थापा र राजकर्णिकार लामो समयसम्म फरार भएपछि पीडितहरूले उनीहरूको तस्बिर राखेर विभिन्न ठाउँमा सूचना टाँसेका थिए। उनीहरूले फ्लेक्समा भएका व्यक्तिहरूलाई कतै देखिएमा १०० मा सम्पर्क गरी जानकारी गराउन भनेर अनुरोध गरिएको थियो।पक्राउ परेका थापा दुई वटा बैंकिङ कसुरमा कारबाहीमा परेको र तीन वटा कसुरमा फरार रहेको प्रहरीले जनाएको छ। २०७९ चैत ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा कारबाहीमा परेका थिए। त्यतिबेला उनीविरूद्ध २६ लाख ६६ हजार ६६६ रुपैयाँ ठगेको आरोप थियो। २०८० वैशाख २९ गते पनि उनी कारबाहीमा परेका थिए। यस्तै प्रकृतिको तीन वटामा भने फरार रहेका थिए।

उनी १७ वर्षको उमेरदेखि नै सहकारीमा सहभागी भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीको अनुसन्धानबाट उनी झन्डै एक दर्जन कम्पनीमा अध्यक्ष रहेको देखिन्छ। २०५६ सालमा उनी कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य थिए। २०६० सालदेखि उनी निरन्तर उक्त सहकारीका कार्यकारी अध्यक्ष हुँदै आएका थिए। 

त्यसैगरी २०६६ सालदेखि उनी समिट अस्पताल र कृषि इन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष छन्। उनी अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेशन उद्योग र कृषि फ्रेस फ्रालिमा २०७० साल देखि र २०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष छन्। कृषि फ्रेस प्रालिको काठमाडौं उपत्यकामा १४ वटा स्थानमा मार्ट र बिक्री केन्द्र छन्। 

२०७१ सालदेखि इन्टेन्सिभ मल्टिप्रपोज एग्रकल्चर कम्नी प्रालि ललितपुर र २०७३ साल देखि उनी गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क), २०७४ सालदेखि यति हर्ब्स प्रालि र २०७६ सालदेखि यति टेक्निक प्रालिमा अध्यक्ष छन्। उनले साझा संसार मिडिया प्रालि लिमिटेडको आइडी कार्डमा अर्कै व्यक्तिको नाममा आफ्नो फोटो राखेर हिँडेको पाइएको छ।