वर्षाको कारण नेपाल र वेस्ट इन्डिजविरुद्धको वार्मअप खेल रद्द

दक्षिण अफ्रिकामा हुन लागेको १९ वर्षमुनिको विश्वकपमा नेपालको दोस्रो वार्मअप खेल रद्द भएको छ। मंगलबार दिउँसो जोहान्सबर्गस्थित सेन्ट स्थिथिनास मेन ओभलमा भएको खेल वर्षाका कारण रद्द भएको हो। टस जितेर नेपालले बलिङ रोजेपछि ब्याटिङमा तानिएको वेस्ट इन्डिजले ८.३ ओभरमा १ विकेट गुमाएर ३३ रन जोडेको थियो।

त्यहि समयमा वर्षा भएपछि खेल रोकिएको थियो। वेस्ट इन्डिजका एड्रन वेयरलाई गुल्सन झाले आकाश चन्दको हातबाट क्याचआउट गराएका थिए। कप्तान स्टेफिन १८ बलमा ७ रन र जोसहुवा ड्रोन २० बलमा १५ रन बनाएर खेलिरहेको समयमा पानी परेको थियो।

यसअघि भएको आईसीसी तालिकाअनुसारको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको थियो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाउँदा पानी परेपछि स्थगित खेलमा नेपाल डीएलएसबाट विजयी भएको थियो। जनवरी १९ अर्थात माघ ५ गतेबाट सुरू हुने १९ वर्षमुनिको विश्वकपमा नेपाल रहेको समूह डीमा न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्।