मल आपूर्तिमा सधैंको झमेला

काठमाण्डौँ - हरेक वर्ष खेतीपातीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव देखिनु नेपाली किसानका लागि नियमित दुर्दशा भइसकेको छ । मल खरीदका लागि शुरूमै पर्याप्त बजेटको व्यवस्था नहुनु, खरीद प्रक्रिया असफल हुनु र ब्याकअप टेन्डरको व्यवस्था नहुनुजस्ता कारणले समयमै मल आपूर्ति हुन नसकेको बताइन्छ ।

मल अभावको असर पछिल्ला वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीमा समेत देखिन थालेको छ । पछिल्लो १ दशकको अवधिमा जीडीपीमा कृषिक्षेत्रको योगदान ३२ दशमलव ७ प्रतिशतबाट घटेर २३ दशमलव ९ प्रतिशत भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा खेती गरिने कुल ३० लाख ९१ हजार हेक्टर जमीनमा पुग्नेगरी प्रयोग गर्दा वर्षमा ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । कम प्रयोग गर्दा पनि वर्षभरिमा ५ लाख २० हजार मेट्रिक टन मल आवश्यक हुन्छ । तर, मन्त्रालयकै तथ्यांकले विगत ७ वर्षमा कुनै पनि वर्ष ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भएको देखाउदैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।