एडीबीले ४० अर्ब ऋण दिने, काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गरिने

 काठमाडौँ - काँकडभिट्टाबाट लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपैयाँ ३० करोड डलर ऋण स्वीकृत गरेको छ ।

उक्त ऋणमार्फत करिब ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ । उक्त सडक खास गरी विपत्को जोखिमबाट सुरक्षित रहने र पुलहरू बाढीबाट पनि जोगिने गरी डिजाइन गरिने एडिबीले जनाएको छ । उक्त सडकखण्डमा सडक सुरक्षा, फुटपाथ, सडक बत्ती, सडक वारपार, बस स्टपलगायतका विशेषता रहने पनि एडिबीले जनाएको छ ।

खास गरी भारत र बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । सडक निर्माण भएपश्चात् सीमा क्षेत्रको व्यापार र स्थानीय समुदायको जीवनस्तर उकासिने एडिबीको दक्षिण एसिया क्षेत्रका यातायातविज्ञ सिन वाई चोङले बताए ।