मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले ५ दल मिलेर जनमतको नेतृत्वमा सरकार गठन हुने जानकारी दिएका छन् । नयाँ बन्ने सरकारमा माओवादी केन्द्र, नेकपा एमाले, जनमत, लोसपा र नेकपा एकीकृत समाजवादी रहने सहमति भएको नेता साहले बताए ।
यस्तै जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने,‘मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । भोलिदेखि यसको प्रक्रिया थालनी गरिनेछ ।’ जनमतबाट यादवले सरकारको नेतृत्व गर्ने बताइएको छ । यस्तै कुन पार्टीबाट कति जना मन्त्री बन्ने भन्ने टुङ्गो लागेको छैन ।
सरकार गठन गर्ने प्रक्रिया सुरु भएपछि दलहरूको बिचमा मन्त्रालय बाँडफाँट हुने बताइएको छ । दलहरूबिच भएको सहमति अनुसार पहिलो वर्ष जनमतले नेतृत्व गर्छ भने दोस्रो वर्ष माओवादी र तेस्रो वर्ष एमालेले सरकारको नेतृत्व गर्ने छ । नयाँ गठबन्धनमा लोसपा पनि रहने बताइए पनि सो दलका उपाध्यक्ष एवं मधेस प्रदेशका सांसद जितेन्द्र सोनलले यस विषयमा पार्टीसँग कुनै छलफल नभएको दाबी गरे । नयाँ गठबन्धनमा माओवादीका ९, एमालेका २४, एकीकृत समाजवादीका ७, जनमतका १३ र लोसपाका ९ जना सांसद रहेका छन् ।