धनगढीमा भीम रावललाई स्वागत गरेका पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्म सुवेदीलाई कार्बाही

भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ। एमाले जिल्ला कमिटी कैलालीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गरेको हो।

कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य हुनाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए। भीष्म भने जिल्ला कमिटी सदस्य भएकाले उनलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको ढुंगानाले बताए।

‘उहाँहरू लामो समयदेखि पार्टी हित, अनुशासनविपरीत गतिविधि गर्दै आउनुभएको थियो। पछिल्लो समय उहाँहरू पार्टीले निष्कासन गरेको भीम रावलको पक्षमा खुल्नुभएको थियो। त्यसैले कारबाही गरेका हौं, पार्टीका कार्यकर्ता भएपछि पार्टी अनुशासनमा बस्नुपर्छ,’ ढुंगानाले सेतोपाटीसँग भने।

कारबाही गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन्। नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका बेला कृष्ण सामाजिक विकास मन्त्री थिए। उनी २०७४ को चुनावमा कैलाली ५ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।