औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक, ३४ प्रतिशतले घट्यो लगानी

काठमाण्डौँ -  चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ ।

विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९२ अर्बको मात्र आएको छ। यसरी १० महिनामा कुल १ खर्व १ अर्व अर्थात् ३४.४७ प्रतिशतले लगानी प्रविवद्धतामा कमी आएको विभागको भनाइ छ ।

लगानी प्रतिबद्धता परिमाणमा ठूलो गिरावट आए पनि परियोजना संख्या भने गत वर्षकै हाराहारीमा देखिएको छ । गत आवको १० महिनामा २६४ परियोजना स्वीकृत भएका थिए भने यस वर्ष २४८ परियोजना स्वीकृत भएका छन् । विभागका अनुसार वैशाख महिनामा मात्र स्वदेशी तथा विदेशी लगानीका ३१ परियोजना स्वीकृत भएका छन् भने ती परियोजनाका लागि ११ अर्व ४५ करोड लगानी प्रतिबद्धता रहेको छ ।

यसवाट २ हजार १५५ को संख्यामा रोजगारी सिर्जना हुने जनाइएको छ । नयाँ दर्ता भएका उद्योगमध्ये वैशाखसम्म १३० साना, ६२ मझौला र ५६ ठूला उद्योग रहेका छन्। यसमध्ये वैशाखमा २६ साना, दुई मझौला र तीन ठूला उद्योग रहेका छन् ।

मुलुकमा पछिल्लो समय ठूला र मध्यमको तुलनामा साना लगानीका व्यवसाय दर्ता गर्ने क्रम बढ्दो अवस्थामा छ । विभागमा हालसम्म स्वदेशी र विदेशी गरी कुल ९ हजार ११ परियोजनाका लागि २८ खर्व १६ अर्बका औद्योगिक तथा व्यावसायिक परियोजना दर्ता भएका छन् ।  यी उद्योग व्यवसायबाट ६ लाख ७५ हजार ५२७ रोजगारी सिर्जना हुने जनाइएको छ ।