काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा आज सञ्चालन हुँदैछ। परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। यस वर्ष छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ।
महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते आवेदन खुला गरेको थियो।
जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १६ हजार १३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका महानगरपालिकाले जनाएको छ। देशका ७७ जिल्लाकै विद्यार्थीले छात्रवृत्तिको लागि आवेशन दिएका छन्। पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १ हजार ९२ आवेदन अस्वीकृत भएका महानगरपालिकाले जनाएको छ।
महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि ४ हजार १६४, मानविकी संकायका लागि ३२ जना, शिक्षा संकायका लागि ९५ जना र कानुन संकायका लागि २५६ जनाले आज छात्रवृत्ति परीक्षा दिँदैछन्। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुने महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने छ।
परीक्षाको नतिजापछि महानगरले मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गर्नेछ। महानगरको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्। गतवर्ष १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए। गत वर्षको तुलनामा यसपालि आवेदन दिनेको संख्या करिब ३० प्रतिशतले बढेको छ।
यसपालि कम्तीमा तीन हजार पाँचसय विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ। विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याले छात्रवृत्ति प्राप्त गर्नेको संख्या निर्धारित हुन्छ। महानगरले प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरिएको जनाएको छ।
महानगरले केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्ने जनाएको छ। प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागू गरिएको र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउनसमेत महानगरले निर्देशन दिएको छ।