सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। यस मुद्दाका एक प्रतिवादी सुम्बा शेर्पालाई भने सफाइ दिइएको छ।

बुधबार विशेष अदालतले तीनमध्ये दुई प्रतिवादीमाथि कसुर कायम हुने फैसला गरेको हो। न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले मुद्दा दायर भएको डेढ महिनामै फैसला गरेको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले प्राप्त प्रमाणसमेत संकलन गरी यो विषयमा अनुसन्धान गर्न भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो।

कार्यालयका सबइन्जिनियर हिराबाबु थापाले घुस रकम लिन सुपरभाइजर नहकुल सिवाकोटी र सुम्बा शेर्पालाई पठाएको अनुसन्धानले देखाएको थियो। दोलखाको बिगु गाउँपालिका वडा नं ३ स्थित लाकुरीडाँडा–पीपलडाँडा ग्रामीण सडकको स्तरोन्नतिका लागि घुस मागिएको थियो।

कमिसनबापत भन्दै ८० हजार रुपैयाँ लिएको खुलेपछि तीनैजनालाई प्रतिवादी बनाउँदै यसै वर्ष १४ साउनमा मुद्दा चलाइएको थियो। यसमाथि फैसला गर्दै विशेषले थापालाई ४ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

यसैगरी, सिवाकोटीलाई भने मतियार ठहर गर्दै आधा सजाय गरिएको छ। उनले जरिवानाबापत ४० हजार रुपैयाँ तिर्नुपर्नेछ भने २ महिना कैद सजाय सुनाइएको छ।