मधेस प्रदेशसभा : बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित

मधेस प्रदेशसभाको आइतबारको बैठकले बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ । प्रदेशसभाको चौथो अधिवेशनको सातौँ बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो । गत पुस २९ गते संकल्प प्रस्ताव दर्ता भएको थियो । सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आज प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरिएको थियो ।

सभामुख मण्डलले सभामा उपस्थित ५९ सदस्यमध्ये ४३ जनाले प्रस्तावको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरेकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव पेस गरेकी थिइन् । प्रस्तावकको समर्थकमा नेकपा (एमाले)का तर्फबाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमत पार्टीबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी)बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका थिए । समर्थकमध्ये एकीकृत समाजवादी र राप्रपा प्रतिपक्षमा छन् ।

बजेट वक्तव्यको १४७ नम्बर बुँदा उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन संकल्प प्रस्ताव पेस गरिएको थियो । सो बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ । प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ । रासस