ढलमा पोलियो भाईरस भेटिएपछि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सञ्चालन गरिँदै

काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ । यही २०८१ साउन ९ गते देखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो ।

नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ । मन्त्रालयले थप जानकारीका लागि टोल फ्रि नम्बर १११५ मा फोन गर्न आग्रह गरेको छ ।

पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ ? 

  • मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) - ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
  • सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) - २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )

पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ? 
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ । यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ ।