राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

काठमाण्डौँ - राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरद्वारा आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत भएका हुन् । 

अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित भएका छन् भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, निर्वतमान अध्यक्ष प्रकाश पौडेल माइलालाई कदरपत्र प्रदान गरिएको छ ।

अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन् । रमेश दाहाल, नेपाल संस्कृत विश्वविद्यालय, ठाडो भाका लोककला प्रतिष्ठान, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिकालाई कदरपत्र प्रदान गरिएको छ । त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित भएका छन् ।