काभ्रेको चाउढिक भोर्लेनीमा एक पुरुषद्धारा महिला माथि घरेलु हतियार प्रहार

काभ्रे — महाभारत गाउँपालिका- ५ को चाउढिक भोर्लेनीमा पूर्व वडासदस्यमाथि घरेलु हतियार प्रहार भएको छ । बुधबार साँझ ६:३० बजे स्थानीय ५४ वर्षीय लनम बमजनले पूर्व वडासदस्य पदममाया लुङ्गेलीमाथि हतियार प्रहार गरेको गाउँपालिकाको वडा नं ५ का वडा अध्यक्ष विजय राणाले जानकारी दिए । 

लनमले आफूलाई टाउकोमा हम्मरले प्रहार गरेको पूर्व वडा सदस्याले जानकारी गराएकी थिइन् । उनीहरुबीच कुनै विवाद नभएको पनि घाइतेले जानकारी गराएको वडा अध्यक्ष राणाले बताए । हतियार प्रहारबाट घाइते भएकी वडा सदस्यलाई स्वास्थ्य चौकीमा सामान्य उपचार गराई थप उपचारको बुधबार राती ललितपुरको पाटन अस्पताल पठाइएको छ ।

पूर्व वडा सदस्यमाथि हतियार प्रहार गर्ने लनमले भने विष सेवन गरेको र उपचारका लागि स्वास्थ्य चौकी लैजादैं गर्दा बाटोमा नै बिहीबार बिहान ९ :३० बजेको समयमा उनको निधन भएको वडा अध्यक्ष राणाले जानकारी दिए । उनका अनुसार, उनको शवलाई चौडिक सामुदायिक स्वास्थ्य इकाईमा राखिएको छ । घटना बारेमा अनुसन्धानका लागि प्रहरीको टोलि घटनास्थलमा गइरहेको छ ।