लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कस्लाई कुन मन्त्रालय ? 

काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौधरीले सोमबार तीन जना मन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता रहेका छन् ।

कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जनता समाजवादी पार्टीका अहिरले कृषि तथा भुमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए । 

मुख्यमन्त्री चौधरीले यसअघि बिना विभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिए । लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । 

यसअघि नै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै केही मन्त्रालय भने रिक्त नै छन् ।