इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

इजरायलको आक्रमणमा १६ जना मारिएकामा तीमध्य १२ जना हिजबुल्लाहाका बरिष्ठ सदस्य रहेका छन् । अकिलसहितका वरिष्ठ सदस्यहरुको ज्यान गएसँगै इजरायल–हिजबुल्लाह युद्ध थप चर्केने सम्भावना बढेको बीबीसीले जनाएको छ । राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषदको एक सत्रमा बोल्दै पछिल्ला घटनापछि मध्यपूर्व थप द्वन्द्वको जोखिममा फसेको बताउनुभएको छ ।

गएको मङ्गलवार र बुधवार हिजबुल्लाहका पेजर र वाकीटकी विस्फोटका कारण कम्तीमा ३७ जनाले ज्यान गुमाएका थिए । तीन हजार सात सयभन्दा बढी घाइते भएका थिए । इजरायली सेनाले गएको जुलाईमा गरेको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए । त्यसयता दुई पक्षबीच दिनहुँजसो आक्रमण चलिरहेको छ ।

यसैबीच लेवनानका प्रधानमन्त्री नजीव मिकातीले इजरायलले लेवनानमा गरिरहेको आक्रमणबारे स्पष्ट अडान लिन अन्तराष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । उहाँले इजरायलको आक्रमणलाई नरसंहार भन्नुभएको छ । उहाँले न्यूयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा भाग लिने कार्यक्रम पनि रद्ध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।