क्रिप्टोकारोबारीसँग रकम असुली घटनामा दुई प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

क्रिप्टोकारोबारीलाई छाड्न आरोपितकै परिवारसँग रकम असुल गरी छाडेको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंका दुई जना प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा तीन जनालाई प्रतिवादी बनाएर ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता भएको हो। 

प्रहरी हवल्‍दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा परिसरको हिरासतमा छन्। अर्का प्रतिवादी तेजबहादुर तामाङ भने फरार छन्। ५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तामाङले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीको प्रयोग गरी परिवारसँग ५० लाख रुपैयाँ असुल गरेको खुलेको थियो।

तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानिबन थालेको थियो। पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो।

तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन। यस्तै नियन्त्रणमा रहेका दुबै प्रहरीले घटनामा रकम असुली नगरेको र त्यसबारे आफूलाई थाहा नभएको पनि बयान दिएका छन्।