को–कसले पाए बीपी स्मृति राष्ट्रिय पुरस्कार ?

काठमाडौँ - जननायक विश्वेश्वरप्रसाद (बीपी) कोईरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिएको छ ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा शनिबार बीपी सङ्ग्राहलय सुन्दरीजल आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बीपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा उपप्रधान एव रक्षामन्त्री पूर्णबहादुर खड्का, पर्यटनमन्त्री सुदन किराँतीलगायतले राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ र ढुण्डीराज पौडेललाई उक्त पुरस्कार प्रदान गरे ।

त्यस्तै, साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही एक लाख रूपैयाँ रहेको छ ।

कार्यक्रममा बीपी सङ्ग्राहलय सुन्दरीजलमा वृक्षारोपण गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।