जहाज दुर्घटना : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ ।

दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ। शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाकाे ज्यान गएकाे छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।