अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर अहिलेसम्म कति बिक्यो ?

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब ४४ करोड ५७ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (असोज ७ गते) बिहान १०ः०६ बजेसम्ममा २ लाख २० हजार २०९ जना सेयरधनीले २ करोड ४४ लाख ५७ हजार ६४१ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । यसर्थ, अझै ८ करोड १४ लाख ४२ हजार ३५९ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ । 

अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज २२ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।