हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।
परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।
पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ । आज दरखाने दिनदेखि तीजको रौनक सुरु हुन्छ । पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन मंगलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।