गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ सहित ३ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा रामकुमार श्रेष्ठसहित उनकी श्रीमती सरस्वती र छोरा सरोज छन् ।

उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव भएर अवकाश भएका थिए ।

पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा मन्त्री थिए । उनले पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए । अख्तियारले उनी मन्त्री भइसकेको अवधिलाई समेत आधार मानेर अनुसन्धान गरेको थियो ।

१५ फागुन २०७८ मा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुँदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

अख्तियारका अनुसार, २०२६ सालदेखि सरकारी सेवामा पुगेका उनले २०६४ माघमा अवकाश पाएका थिए । २०७० सालमा उनी फेरि चुनावी मन्त्रिपरिषदको मन्त्री बनी सरकारी पदमा आए ।

सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैयाँ सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो माग दावी गरेको थियो । अख्तियारले उनको बैंकमा रहेको ६८ लाख ५० हजार, घरजग्गा लगायतको सम्पत्ति जफत हुनुपर्ने माग दावी गरेको थियो ।