सहकारी ठगीमा फरार पत्नीको अनिश्चितकालीन बिदा स्वीकृत गराउन सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको दबाब

मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत गर्न सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले प्रधानाध्यापकलाई दबाब दिएका छन् ।

विराटनगरको शनिहाटस्थित विराट रात्रि माविकी शिक्षिका अञ्जला राज्यकै संरक्षणमा रहे पनि प्रहरीले ‘फरार’ सूचीमा राखेको छ । स्रोतका अनुसार पोखरेलले अञ्जलाको बिदा स्वीकृतिका लागि विद्यालयमा निवेदन पठाई बिदा स्वीकृत गर्न प्रधानाध्यापक झंकनाथ पराजुलीलाई फोन गरेर दबाब दिएका हुन् ।

अञ्जलासहित २६ विरुद्ध २८ मंसिरमा उमागौरी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा चलेको छ । मुद्दा दायरको भोलिपल्ट २९ मंसिरमा उनी विराटनगरको सहिद मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी भएकी थिइन् ।

तर, २८ मंसिरमै विद्यालयमा पाँच दिनको क्याबि बिदा लेखेर अनुपस्थित भएकी थिइन् । प्रहरीले २ पुसमा पक्राउ पुर्जी जारी गरेको अञ्जलाको विद्यालयमा लिएको बिदा ५ पुसमा सकिएको छ । प्रहरीले घरमै बसेकी अञ्जलालाई ‘फरार’ रहेको भन्दै सोधपुछसम्म गरेको थिएन ।