किन ढिलो भयो हिउँदे वर्षा ?

काठमाडौँ - यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताए । उनले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उनले उल्लेख गरे ।

“हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट््याङ र असिनारहितको वर्षा भएको छ”, मौसमविद् कँडेलले भने । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिन प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उनले बताए ।