सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता र इन्जिनियर रामचन्द्र साह भ्रष्टाचारी ठहर

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्तासहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले मेयर गुप्ता र सोही नगरपालिकाका इन्जिनियर रामचन्द्र साहले भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको छ ।

इन्जिनियर साहलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताले घूस मागेको अडिओ फेला परेपछि गुप्तालाई पनि पक्राउ गरिएको थियो ।

अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा दोषी ठहर गर्दै दुबैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।