नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।