नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर

काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको  पद्मा कोलनी प्रालि,  पद्मा मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको अख्तियारको आरोप छ ।

बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गा  पद्मा कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रुपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कुल २३ करोड २२ लाख २७ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

यस कार्यमा मेयर बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार मेयर बस्नेत र श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रुपैयाँ रकम जम्मा गरेको पाइएको छ । यस्तै छ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा २४ लाख ७२ हजार छ सय ३७ रुपैयाँ बराबरको रकमसमेत पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।

अख्तियारले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मेयर बस्नेत, श्रीमती उर्मिला बस्नेत, पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि मेयर बस्नेत, श्रीमती उर्मिला र  पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।