सरकारी वेबसाइटमा ‘साइबर आक्रमण’, सरकारी वेवसाईटहरु चल्न छाडे

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)बाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनहरूमा समस्या आएको छ । आइतबार दिउँसोदेखि नै सरकारी वेबसाइटहरू डाउन हुने क्रम चलेको थियो । आज (सोमबार) वेबसाइटहरू डाउन भएर खुल्न समेत छोडेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सिस्टममा ‘साइबर आक्रमण’ भएर समस्या आएको बताएको छ । केन्द्रका कम्प्युटर इञ्जिनियर अमन शर्माले सिस्टममा ठूलो मात्रामा ‘ट्राफिक (भिजिटर)’ पठाउने काम भएको र त्यसैले डीएनएस सर्भरमा समस्या आएको बताए । 

“ठूलो संख्यामा भिजिटर पठाउँदा वेबसाइट डाउन हुन पुगेको हो, समस्या समाधानका लागि पहल भइरहेको छ । वेबसाइटहरू खुलिपनि रहेका छन् । साँझसम्म पूर्णरूपले समाधान हुन्छ,उनले भने । 

सिस्टममा आक्रमण विदेशबाटै भइरहेको देखिएको उनले बताए । चीन, भारत, बंगलादेशमा पनि अहिले यस्तो आक्रमण भइरहेको उनको भनाइ छ । धेरै भिजिटर पठाएर सिस्टम डाउन गर्न खोजिएका कारण अहिले बाहिरबाट आउने भिजिटरलाई ब्लक गरिएको कम्प्युटर इञ्जिनियर शर्माले बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत नै सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) रहेको छ । त्यहाँबाट होस्टिङसहित सञ्चालनमा रहेका सरकारी वेबसाइटहरूमा पटक पटक समस्या आउने गरेको छ । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई खारेज गरी सूचना तथा प्रविधि विभागअन्तर्गत नै गाँभ्ने निर्णय गरेको छ । सिस्टममा आएको समस्या समाधान गर्ने काम भइरहेको केन्द्रले जनाएको छ । अहिले सरकारी वेबसाइटहरु खुल्न/नखुल्ने समस्या भइरहेको छ ।