काभ्रेपलाञ्चोकस्थित नेपाल प्रहरीको ३६ रोपनी जग्गा आफ्नो नाममा ल्याउने मालपोतका पूर्वनायब सुब्बा पुस्करबहादुर बस्नेत दोषी ठहर

काभ्रेपलाञ्चोकस्थित नेपाल प्रहरीको ३६ रोपनी जग्गा आफ्नो नाममा ल्याउने मालपोतका पूर्वनायब सुब्बा पुस्करबहादुर बस्नेत दोषी ठहर भएका छन् । काभ्रे जिल्ला अदालतका न्यायाधीश शिवकुमार पोखरेलको शुक्रबारको इजलासले ६४ वर्षीय बस्नेतलाई सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो । सजाय निर्धारण भने ५ फागनुमा हुने अदालतका स्रेस्तेदार कर्णबहादुर राईले बताए । 

पनौती नगरपालिका– ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयासमा उनीमाथि गत वर्ष २७ मंसिरमा मुद्दा दायर भएको थियो । बस्नेतलाई किर्ते अभियोगमा गत वर्ष मंसिर पहिलो साता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

सरकारले भोगचलनका लागि भनी वन क्षेत्रमा पर्ने उक्त जग्गा १५ साउन ०५२ को मन्त्रिपरिषद्को निर्णयले प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो भनी दाबी गरेका थिए । उनले जग्गा दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, जुन खारेज भइसकेको छ । उनले किर्ते गरी जग्गामा दाबी गरेको पुष्टि भएपछि अदालतले सजाय सुनाउने मिति तोकेको हो ।