अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
हलेसी तुवाचुङ नगरपालिका-४ को लक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माणमा ३० लाख बजेट निकासा भए पनि २ लाख ७२ हजार ३२८ हजार बराबरको मात्र काम भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। '२ लाख ७२ हजार ३२८ रूपैयाँको भवन बनाएर २४ लाख रूपैयाँ भुक्तानी लिएको देखिएको छ,' अख्तियारका प्रवक्ता पौडेलले भने।
उनका अनुसार २०७१/ ०७२ मा विद्यालयको ४ कोठे भवन बनाउने निर्णय भएको थियो। त्यसैले तत्कालीन जिल्ला शिक्षा अधिकारी डा भट्टराई, अधिकारीद्धय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
त्यस्तै, सव इन्जिनियर शिवराज राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहाल, शेषकुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेल, नयनकुमार राई तत्कालीन लेखापाल सीता कार्की र भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङविरूद्ध मुद्दा दर्ता भएको हो। उनीहरूसँग फरक-फरक विगो माग दाबी गरिएको छ।