पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।

एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको जनाएको छ।

पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रूपैयाँ तोकिएको छ। हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ। पोखराका लागि ७७२ र भैरहवाका लागि ६५९ डलर तोकिएको छ।