आजपनि पनि घट्यो नेप्से, सेयर बजार घट्नेक्रम यसकारण रोकिएन

सेयर बजार सुस्त हुनेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से सूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा आएर अडिएको छ । ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । इन्भेष्टमेन्टबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

अन्य कुराहरुको अतिरिक्त लगानीकर्ताको मनोबल कमजोर हुनु नै सेयर बजारले गति लिन नसक्नुको प्रमुख कारण मानिएको छ । लामो समयदेखि थलिएको बजार माथि जान नसक्दा आम लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् । 

ठूला र संस्थागत लगानीकर्ता बजार प्रवेश नगर्नु, कम्पनीहरुको लाभांश दर औसतमात्र रहनु अनि अनि नीतिगत अवरोध जारी रहनु नै बजार प्रभावित हुनुका थप कारण हुन् । यस्तै, ब्याजदर घट्दोक्रममा रहे पनि अझै लगानीकर्ताले खोजे अनुसार सस्तो मूल्यमा कर्जा नपाउनु बजार प्रभावित हुनुका थप कारण मानिएका छन् । 

बजार घट्न थालेपछि मास साइकोलजी पनि नेगेटिभ बन्दै जान्छ । धेरै नयाँ र साना लगानीकर्ताहरुमा हल्लाकै पछि लाग्ने प्रवृत्ति हावी हुन्छ । अहिले सेयर बजारप्रति मास साइकोलजी नकारात्मक भएकाले नेप्से दिनहुँजसो नेप्से घटेको जानकारहरु बताउँछन् । 

बजारमा केही नयाँ र साना लगानीकर्ता भित्रिए पनि ठूला र प्रभाव पार्न सक्ने म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्ताको उपस्थिति कमजोर छ । यही कारण पनि नेप्सेले गति लिन नसकेको आँकलन गरिएको छ । यता, धितोपत्र बोर्डले हकप्रद र आइपीओमार्फत आपूर्ति बढाइदिएको छ । तर यसरी बढेको आपूर्ति थेग्न सक्ने संयन्त्र भने तयार भएको छैन । यसबाट माग पक्ष कमजोर देखिएको छ । 

यस्तै, बजारका एकथरी लगानीकर्ता दोस्रो बजारभन्दा पनि अक्सन मार्केटतिर आकर्षित भइरहेको पाइएको छ । हकप्रदमा नबिकेको सेयर अहिले धमाधम लिलामीमा आइरहेको छ । लिलामीमा बजार भाउ भन्दा पनि निकै सस्तोमा सेयर पाइने सम्भावना रहेकाले उनीहरुको ध्यान यतातिर मोडिएको कतिपयको विश्लेषण छ । यसले पनि दोस्रो बजारलाई थप कमजोर बनाइदिएको विश्लेषण हुन थालेको छ ।

यसैगरी, ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा जोखिमभार १५० कायम छ । जोखिमभार धेरै भएकाले बैंकहरु सेयर धितो कर्जा प्रवाह गर्नतिर खासै आकर्षित हुन सकेका छैनन् । कर्जा लिनेलाई पनि यसमा ब्याजदर महँगो पर्न जान्छ । यसले पनि सेयर बजार प्रभावित बनाउन भूमिका खेलेको देखिन्छ । 

सेयर बजार करिब २७ महिनादेखि बियरिस चक्रमा फसेको छ । अब यसको चक्र परिवर्तनका लागि केही महत्वपूर्ण नीतिगत निर्णयहरु हुनुपर्ने देखिन्छ । यसबाट मात्र लगानीकर्ताको मनोविज्ञानमा सुधार हुन सक्ने र बजारले पनि गति लिन सक्ने देखिन्छ ।

यता, चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक हुनै लाग्दा सेयर बजार भने थप प्रभावित भइरहेको छ । अब अरु कम्पनीहरुले पनि धमाधम सार्वजनिक गर्न थाल्ने अपेक्षा गरिएको छ । दसैं विदाका कारण वित्तीय विवरण सार्वजनिकमा केही विलम्ब भएको हो । अब विदा सकिएकाले रिपोर्टहरु आउन थाल्ने छ । 

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा, बुक क्लोज र साधारण सभा गरिरहँदा पनि अहिलेसम्म यसको सकारात्मक प्रभाव बजारमा देखिएको छैन । बैंकमा विस्तारै तरलता सहज हुन थालेको छ । ब्याजदर पनि घट्नेक्रममा देखिएको छ । 

सेयर बजारको मुख्य सिजनमा पनि आम लगानीकर्ताको मनोबल कमजोर देखिंदै आएको छ । धेरैजसो लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजारमा लामो समयदेखि क्रेता पक्ष कमजोर भएको हो । यसको तुलनामा बिक्रेता पक्ष हावी हुँदा बजार दबाबमा परेको अनुमान गरिएको छ । 

बजार लामो समयदेखि थला परेकै कारण लगानीकर्तामा अब पुनः तत्काल यसले गति लिन्छ भन्ने विश्वास कम देखिएको हो । यसैकारण थोरै भाउ बढ्ने बित्तिकै बेच्नेहरु हावी हुने गरेका छन् । तर घटेको मूल्यमा कुनै पनि बेला क्रेताहरु हावी हुने अनुमान गर्न सकिन्छ । किन भने यतिबेला बजारमा सेयर मूल्य निकै सस्तो भइसकेको अवस्था छ । 

यस दिन २९६ कम्पनीको ३३ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेढ अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आशा लघुवित्तको संस्थापक सेयर र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड परेका छन् ।