दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार

ओखलढुङ्गा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले दुई हजार सातजना ज्येष्ठ नागरिकको गाउँमै उपचार गरेको हो । 

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले एमबीबीएस, एमडी डाक्टरको व्यवस्था गरी वडा वडामा पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताबताए । वडा नं. १ देखि ९ सम्म महिला विकास शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकहरूमा के कस्ता रोग लागेका छन् र के कस्ता समस्या छन्, पहिचान गरिएको छ ।

विभिन्न प्रकृतिका १३७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको  छ । शिविरमै एक हजार २०० भन्दा बढी ज्येष्ठ नागरिक साथै अपाङ्गता भएका व्यक्तिहरूको आँखा स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ढबलराज राईले बताउए ।

गाउँपालिका स्वास्थ्य शाखा तर्फको आयुर्वेद सेवा, आँखा परीक्षण, दन्त परीक्षण, गर्भवतीको भिडियो एक्स-रे सेवा, गर्भवती जोडी तालिम, अपाङ्गता, ज्येष्ठ नागरिक, दिर्गरोगीहरुको स्वास्थ्य परीक्षण, औषधी वितरणलगायतको सेवा गाउँमै पुगेर दिइएको राईको भनाइ छ । 

यसैगरी, महिला विकास शाखामार्फत प्रवाह गरिने अपाङ्गता परिचय पत्र वितरण साथै नवीकरण र ज्येष्ठ नागरिक परिचय पत्र शिविरबाटै वितरण गरिएको महिला शाखा प्रमुख चम्पा राईले जानकारी दिए। प्राध्यापक डाक्टर विजेन्द्र राईले गाउँपालिकाको नौवटै वडामा पुगेर शिविरमार्फत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवतीहरूको स्वास्थ्य परीक्षण साथै औषधी वितरण गरिएको बताए ।