रास्वपालाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु पर्दैन : ओली

विराटनगर - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

सत्ता गठबन्धन हुँदा भएको सहमतिअनुसार रास्वपाले गृहमन्त्री पाउनु पर्ने उनको भनाइ छ । ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ खोजिरहनु पर्दैन’ अध्यक्ष ओलीले भने,‘को गृह मन्त्री बन्छ भन्ने कुरा पनि रास्वपाले नै जिम्मेवारी लिने हो ।’ 

गृह मन्त्री रास्वपालाई दिने भनेपछि गृहमन्त्री को बन्छ भन्ने जिम्मेवारी पनि सोही पार्टीकै हुने ओलीको भनाइ छ । अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकारमा आउन आतुर रहेको बताए। जस्तोसुकै स्थितिमा सरकार चाहिएको कांग्रेसलाई राज्यमन्त्री नै दिँदा पनि मान्ने दाबी उनले गरे। 

कांग्रेसले राष्ट्रपति हुन खोज्नु अनौठो कुरा भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रपति सत्ता पक्षबाटै हुने बताए। नयाँ समीकरणको उम्मेदवार नै राष्ट्रपति बन्ने उनले प्रष्ट पारे। सरकार गठन हुँदाताका के सहमति भएको हो सबैलाई थाहा भएको उबताए।